
पोखरा विश्वविद्यालयका स्वास्थ्य विज्ञान सङ्काय अन्तर्गतका शैक्षिक कार्यक्रममा अध्ययनरत प्यारामेडिकल तथा नर्सिङ विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले क्रमशः आफ्नो सेवा विस्तार गर्दै आएको छ।
शिक्षण अस्पतालले २०८१ जेठ ७ गते विधिवत् रूपमा उद्घाटन भई सञ्चालनमा आएको हो। यसअघि २०७९ भाद्र २२ गतेदेखि बहिरङ्ग सेवा (OPD) सुरु गर्दै अस्पतालले समुदायमा स्वास्थ्य सेवा प्रदान गर्न थालेको थियो। स्थापना पश्चात् अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै स्थानीय जनताको विश्वास जित्न सफल हुँदै गएको छ।
हाल अस्पतालमा विभिन्न विशेषज्ञ चिकित्सकहरूबाट सेवा प्रदान गरिँदै आएको छ भने विशेषज्ञ सेवामा समेत क्रमिक रूपमा वृद्धि भइरहेको अस्पताल प्रशासनले जनाएको छ। निकट भविष्यमा नाक, कान, घाँटी तथा मनोरोगसम्बन्धी विशेषज्ञ चिकित्सकहरूबाट समेत उपचार सेवा उपलब्ध गराउने तयारी भइरहेको छ।
बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको अवस्थामा पोखराका सुपरिचित छाती रोग विशेषज्ञ डा. सि. पि. आचार्यको नेतृत्वमा अस्पताल सञ्चालनमा आएपछि सेवाग्राहीहरूमा अझ बढी विश्वास जागेको बताइएको छ। यसैबीच मिति २०८२ पौष २२ गतेदेखि अस्पतालका वार्डहरू पूर्ण क्षमताका साथ सञ्चालनमा आएका छन्।
शिक्षण, उपचार र अनुसन्धानलाई एकसाथ अघि बढाउने लक्ष्यसहित सञ्चालन भइरहेको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले आगामी दिनमा अझ व्यापक र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

