२०८२ पौष ९ गते, बुधबार
पोखरा–३०, कास्की
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक पदमा डा. चन्द्र प्रसाद आचार्य नियुक्त हुनुभएको छ। पोखरा विश्वविद्यालय शिक्षण अस्पताल सञ्चालनसम्बन्धी नियमावली, २०८१ को नियम ८(२) बमोजिम पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०८२ साल पौष ९ गते बसेको बैठकको निर्णयअनुसार उहाँलाई चार वर्षको कार्यकालका लागि निर्देशक पदमा नियुक्त गरिएको हो।
नियुक्तिपछि उहाँले आजै एक समारोहबीच पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशकको कार्यभार सम्हाल्नुभएको छ।
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल २०७९ भाद्र २२ गतेदेखि सञ्चालनमा आएको हो। अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा, दन्त उपचार, प्रयोगशाला (Lab and Diagnostics), एक्स–रे सेवा तथा विभिन्न विशेष उपचार सेवाहरू उपलब्ध छन्।
साथै, अस्पतालमा विभिन्न विशेषज्ञ चिकित्सकहरूमार्फत स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसारोग, छाला रोग, जनरल फिजिसियन, जनरल प्राक्टिसनर, बालरोग तथा प्याथोलोजीसम्बन्धी रोगहरूको उपचार सेवा प्रदान हुँदै आएको छ।