
पोखरा — पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको शल्य चिकित्साबाट एक बिरामी सफलतापूर्वक स्वास्थ्यलाभ गरी घर फर्किएका छन्। पोखरा महानगरपालिका–३०, खुदी निवासी अमर बहादुर महत २०८३ साल वैशाख १४ गते पेट दुखाइ (Appendicitis) सम्बन्धी समस्या लिएर अस्पतालमा भर्ना भएका थिए।
उही दिन गरिएको शल्य चिकित्सा सफलतापूर्वक सम्पन्न भएको थियो। उक्त शल्यक्रियामा जनरल सर्जन डा. विशाल थापा क्षेत्री र डा. नविन रेग्मीको नेतृत्व रहेको थियो भने एनेस्थेसियोलोजिस्ट डा. अकांक्षा के.सी.ले एनेस्थेसिया व्यवस्थापन गर्नुभएको थियो। साथै, स्टाफ नर्स अमृता गिरी र सुजित गौतमले समेत सक्रिय भूमिका निर्वाह गरेका थिए।
शल्यक्रिया पश्चात् बिरामी २ दिन अस्पतालमा उपचाररत रहनु भएको थियो र २०८३ साल वैशाख १६ गते पूर्ण रूपमा स्वास्थ्यलाभ गरी डिस्चार्ज भई घर फर्किनुभएको छ।
उपचारका क्रममा विश्वविद्यालयका उपकुलपति तथा रजिस्ट्रारज्यूले अस्पतालमै पुगेर बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो।

डिस्चार्जपछि प्रतिक्रिया दिँदै बिरामी महतले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीको दक्षता तथा अस्पतालको भौतिक पूर्वाधारप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। “नजिकै सुविधा उपलब्ध भएको र अस्पतालको अवस्था राम्रो देखेर यति गम्भीर शल्य चिकित्सा यहीँ गर्ने निर्णय गरेको थिएँ। सफल उपचार र सेवा देखेर आफ्नो निर्णय सही भएको महसुस भएको छ,” उहाँले बताउनुभयो।
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले पछिल्लो समय गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै बिरामीको विश्वास जित्दै गएको देखिन्छ।