समाधान दैनिक । पोखरा विश्वविद्यालय अस्पतालमा नेपाल प्रहरीका कर्मचारीलाई प्राथमिक उपचार तथा उद्धार व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको छ । विभिन्न विपद्, सवारी दुर्घटना तथा जलनजन्य घटनामा घाइतेको प्राथमिक उपचार र उद्धार व्यवस्थापनसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पोखराको समन्वय तथा पोखरा विश्वविद्यालय अस्पतालको सहयोगमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल प्रहरीका विभिन्न तहका कर्मचारी सहभागी थिए ।
प्रशिक्षणमा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सक डा. प्रकाश भट्टराई, डा. प्रदीप काफ्ले, डा. नवीन रेग्मी र डा. विशाल थापा क्षेत्रीले सवारी दुर्घटना तथा अन्य आकस्मिक घटनामा घाइतेलाई अस्पताल पु¥याउनुअघि गर्नुपर्ने प्राथमिक उपचारबारे प्रशिक्षण दिए ।
चिकित्सकहरूले उद्धारका क्रममा अपनाउनुपर्ने सावधानी र आकस्मिक अवस्थाको व्यवस्थापनका विषयमा समेत जानकारी दिए । सहभागीलाई घटनास्थलमै घाइतेको अवस्था पहिचान गर्ने र आवश्यक प्राथमिक उपचार गर्ने प्रक्रियाबारे सिकाइएको थियो ।
प्रशिक्षणमा घाइतेलाई सुरक्षित रूपमा उद्धार गरी थप उपचारका लागि स्वास्थ्य संस्थासम्म पुर्याउने प्रक्रियाबारे पनि जानकारी दिइएको थियो । सडक दुर्घटना तथा अन्य विपद्का घटनामा प्रहरीको प्रारम्भिक भूमिका र घाइतेको जीवनरक्षाका उपायबारे प्रशिक्षण दिइएको थियो ।
स्वास्थ्य संस्थासँग समन्वय गर्ने प्रक्रिया पनि प्रशिक्षणको विषय बनेको थियो । आकस्मिक अवस्थामा घाइतेलाई समयमै उचित उपचारको पहुँचमा पु¥याउन प्रहरीको भूमिकाबारे सहभागीलाई जानकारी दिइएको थियो । प्रशिक्षणका क्रममा सहभागी प्रहरी कर्मचारीले प्रशिक्षकसँग अन्तरक्रिया गरेका थिए । उनीहरूले आकस्मिक अवस्थामा प्राथमिक उपचार तथा उद्धार व्यवस्थापनका व्यावहारिक पक्षबारे जानकारी लिएका थिए ।
सवारी दुर्घटना तथा विपद्का घटनामा प्रहरी कर्मचारी नै प्रारम्भिक उद्धारकर्ताका रूपमा घटनास्थलमा पुग्ने भएकाले प्राथमिक उपचारसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गर्नु महत्वपूर्ण रहेको प्रशिक्षणका क्रममा बताइएको थियो ।
प्रशिक्षणले सडक दुर्घटना तथा अन्य आकस्मिक घटनामा प्रहरीको उद्धार क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसबाट घाइतेलाई समयमै प्राथमिक उपचार दिन र सुरक्षित रूपमा स्वास्थ्य संस्थासम्म पु¥याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
